विद्यालय नै जाँदैनन् बादी बालबालिका

सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, ३ फागुन ।
    सन् २०१५ भित्र सबैलाई साक्षर गराउने सरकारी नीति भएपनि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको सब्जीमण्डीका वादी समुदायका एक दर्जन बढी बालबालिका विद्यालय जान पाएका छैनन् । आर्थिक अभावका कारण वादी समुदायका बालबालिका को विद्यालयसम्मको पहुँच पुग्न नसकेको हो । विद्यालय जान नपाएपछि वादी समुदायका बाल बालिका नजिकैको सडकको धुलोमा खेलेर दिन बिताउने गरेका छन् ।
    अभिभावक दैनिक छाक टार्नका लागि घर बाहिर निस्कने भएकाले बालबालिका घर कुरेर बस्ने गरेका छन् । सडक छेउमा नगर विकास समितिको जग्गामा अस्थायी छाप्रा निर्माण गरी बसेका ११ वादी
परिवारका १३ जना पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिका विद्यालय नजाने गरेको कमल वादीले बताए । बालबालिकालाई विद्यालय पठाउनका लागि आवश्यक कापी, झोला, पोसाकलगायतको व्यवस्था गर्न नसक्ने अवस्था छ । कमलले भने, ‘मजदुरी को रकमले साँझ बिहानको खाना खर्च धान्न धौधौ भएकाले बाल बालिकालाई विद्यालय पठाउने रहर भएपनि पूरा गर्न सकिएको छैन ।’
    दुई बालबालिकालाई पहिला विद्यालय पढाउँदै आएपनि तीन कक्षा माथिको खर्च धान्न नसकेर विद्यालय छुटाउन विवश भएको उनले बताए  । ‘स्थायी बसोवासको ठेगान भएर पनि बालबालिकालाई विद्यालय पठाउन सकेका छैनौं’, उनले भने, ‘कुनै पनि निकायले हाम्रा बालबालिका लाई विद्यालय पठाउनका लागि सहयोग गरेका छैनन् । हाम्रो आयस्ताले बालबालिकालाई विद्यालय पढाउन सकिदंैन ।’ शिक्षा कार्यालयको तथ्यांकमा कञ्चनपुरका ९० प्रतिशत बालबालिका विद्यालय जाने गरेका छन् । गरिबीभन्दा पनि चेतनाको स्तरमा कमी भएका कारण वादी समुदाय का बालबालिका विद्यालय पुग्न नसकेको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका उपसचिव पदमराज भट्टले बताए ।
    ‘बालबालिकालाई विद्यालय पठाउन वादी समुदायले आफैं सचेत हुनुपर्छ दलित र विपन्न परिवारका बाल बालिकालाई विद्यालयमा छात्रवृत्तिको व्यवस्था भएकाले आर्थिक अभावले विद्यालय छाडनु पर्ने अवस्था छैन’, उनले भने । 
 

No comments:

Post a Comment