सुर्खेतपत्र संवाददाता
सुर्खेत, ८ फागुन ।
सुर्खेतमा दर्ता भएका मध्ये करिव ७० प्रतिशत सहकारी संस्थाहरुले सहकारी ऐनको उल्लंघन गरेको पाइएको छ । आर्थिक वर्षको पुस मसान्तसम्म सबै खाले सहकारीहरुले साधारण सभा गरिसक्नु ऐनमा उल्लेख गरिएपनि सुर्खेतमा फागुन लागि सक्दा ७० प्रतिशत सहकारीले साधारण सभा नगरेर मापदण्ड उल्लंघन गरेका छन् ।
डिभिजन सहकारी कार्यालय सुर्खेतले दिएको तथ्यांक अनुसार सुर्खेतमा दर्ता भएको ५ सय ६१ वटा सहकारीमध्ये तोकिएको समयभित्र साधारणसभा गर्ने सहकारीको संख्या १ सय ६५ मात्रै रहेको छ । प्रतिशतमा हेर्दा कूल सहकारी संस्थाहरुको करिब ३० प्रतिशत सहकारीहरुले मात्रै सहकारी ऐन अन्तर्गत काम गरेको देखिएको कार्यालयले जनाएको छ ।
वचततर्फका १५४ वटा सहकारी संस्था मध्ये ५० वटा, बहुउद्देश्यीय तर्फका ११९ संस्थामध्े ३५ वटाले, कृषितर्फका २०१ वटामध्ये ६० वटाले मात्रै तोकिएको समयभभित्र साधारण सभा गरेका छन् । यस्तै अन्य दर्ता भएका सहकारी मध्य २० वटाले साधारणसभा गरेको पनि डिभिजन कार्यालय सुर्खेतले जानकारी
दिएको छ ।
कार्यालयका सहायक सहकारी निरीक्षक प्रकाश चपाईंले पुस मसान्तभित्र साधारण सभा गरी सहकारीहरुले कार्यालयमा वुझाउन पर्ने भएपनि धेरैजसो संस्थाहरुले नवुझाएको बताए । तोकिएको समयमा साधारण सभा नगर्ने सहकारीहरुलाई सहकारी ऐनको दफा अनुसार जरिवाना र अन्य कारबाही हुने जानकारी उनले दिए ।
सहकारीको विधान र ऐन कमजोर भएकाले पनि धेरैजसो सहकारी संस्थाहरुले मनोमानी गर्ने मौका पाएका छन् । असोज मसान्तसम्म लेखा परीक्षण स्वीकृति लगेर साधारणसभा गर्नुपर्ने व्यवस्था भएको तर आर्थिक वर्ष सकिंदा पनि कतिपय सहकारीहरुले स्वीकृति लिनै नआउने उनले बताए । ऐन उल्लंघन गर्ने सहकारीहरुलाई सुरुमा जरिवाना लिने र २ वर्षभित्र पनि साधारण सभा नगरेमा संस्था खारेजको लिष्टमा जाने र खारेजको प्रक्रिया सुरु हुने चपाईंले जनाए । ठूलो कारोवार गर्ने सहकारी संस्थाहरुले साधारण सभा गरिसकेको भन्दै उनले साना र ‘झोले’ सहकारीहरुले अटेर गरेको दावी गरे । झोलामा वोकिने सहकारी र अवसरमा सञ्चालन गरिने सहकारीहरुले कुनै ऐन नियम पालना नगरेको उनको भनाइ छ ।
करोडदेखि माथि कारोवार गर्ने करिब २५ वटा सहकारी संस्थाहरु दर्ता भएकोमा सबैले समयमै साधारणसभा गरेर कार्यालयमा वुझाएका छन् । राष्ट्र वैंकले ठूलो कारोवार गर्ने संस्थालाई आफै निगरानी गर्ने भएकाले पनि ठूला सहकारीको साधारण सभा लगायतका काम चाँडै सम्पन्न हुने सहायक सहकारी निरीक्षक चपाईंको अनुभव छ ।
No comments:
Post a Comment