ट्युमरपीडित बालिकाको उपचार हुने

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ फागुन ।
     जन्मदै मेरुदण्डको पुछारमा स्याक्रल टेराटोमा नामक ट्युमरपीडित वीरेन्द्रनगरकी २० महिनाकी बालिकाको भक्तपुर क्यान्सर अस्पतालले नि:शुल्क उपचार गरिदिने भएको छ । नेपाल अर्वुद्ध रोग निवारण संस्थाको आयोजनामा वीरेन्द्रनगरमा संचालन भएको क्यान्सर रोग परीक्षण शिविरमा उपचारका लागि आएकी ती बालिकाको उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि बोलाइएको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक प्रकाशराज न्यौपानेले जानकारी दिए ।
    जन्मजात क्यान्सर रोग भएको मानिने उक्त रोग लागेका बच्चा जन्मदै अपाङ हुनुका साथै केही समयपछि मृत्यु हुने गरेपनि २० महिनाकी ती बालिका भने सकुशल रहेको हुनाले अस्पतालले नि:शुल्क रुपमा उपचार गरिदिने उनले बताए । उनले १५ सेन्टिमिटरको गोलाकारभित्र उक्त ट्युमर रहेको जानकारी दिए । नेपाल अर्वुद्ध रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले ट्युमर लागेका विरामीले अप्रेशन सरकारी अस्पताल भरतपुर र भक्तपुर क्यान्सर अस्पतालमा मात्र उपचार गर्न आग्रह गरे ।
    सुर्खेतमा दुई दिनसम्म संचालन भएको क्यान्सर रोग शिविरमा ६ सय ४० जना महिलाले पाठेघर सम्बन्धी क्यान्सरको जाँच गराएको मध्ये १० प्रतिशतमा क्यान्सरको लक्षण देखिएको शिविरका प्रमुख डा. प्रकाशराज न्यौपानेले जानकारी दिएका छन् । उनले सुर्खेतमा पश्चिम क्षेत्रमा महिलाहरु पाठेघरको समस्या लुकाउने र अन्तिम चरणमा मात्र जाँच गराउने गर्नाले पश्चिम भेगमा महिलामा क्यान्सरको धेरै लक्षण देखिएको उल्लेख गरे ।
    पाठेघरको मुखको क्यान्सर, स्तन को क्यान्सर र साधारण जाँच गरी १ हजार ३ सय जनाको जाँच गरिएको नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेतका संस्थापक अध्यक्ष नारायाण कोइरालाले जनाए । शिविरमा ९५ जना महिलाको पाठेघरमा रिङ हालेको उनले बताए । शिविरमै प्रशान्ति बृद्धाश्रममा आश्रित ७ जना बृद्धबृद्धाको पनि जाँच गरिएको थियो ।
    नेपाल अर्वुद रोग निवारण संस्थाको आयोजनामा लायन्स क्लव, जेसीज, महिला संस्थाको सहयोगमा पहिलो पटक सुर्खेतमा क्यान्सर रोग परीक्षण शिविर संचालन गरिएको थियो । सुर्खेतमा संचालन भएको शिविरमा क्यान्सर रोगका विरामी धेरै भेटिएको हुनाले सेटलाइट शिविर स्थापना गरिने योजना रहेको संस्थाका संस्थापक अध्यक्ष कोइरालाले जानकारी दिए । शिविर बुधवार नै समापन भएको छ । यसैवीच शिविरमा नाम लेखाउनका लागि लिएको १० रुपैयाँ शुल्क अक्षय कोषमा राखिएको छ । करिव नाम लेखाएवापत करिव १२ हजार रुपैयाँ संकलन भएको र उक्त रकम अक्षय कोषमा राखिएको संस्थापक अध्यक्ष नारायण कोइरालाले जनाए । 
 

No comments:

Post a Comment