प्रहरी दुव्र्यवहारको विरोध

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २८ चैत ।
    काँक्रेविहार दैनिकका प्रबन्ध निर्देशक सुशील शर्मामाथि प्रहरीले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुर्खेतको गम्भीर ध्यानाकषर्ण भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतले प्रहरीले गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकषर्ण भएको भन्दै प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरसमक्ष शुक्रवार ज्ञापनपत्र बुझाएको छ । काँक्रेविहार दैनिकका प्रवन्ध निर्देशक शर्मालाई विहीवार राती घर जाँदै गर्दा वीरेन्द्रचौक निजक डिएसपी प्रविण धितालले अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेको हुन् । ज्ञापनपत्रमा नागरिकको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरीबाटै विना गल्ती अपशब्द प्रयोग गरिनु स्वतन्त्र र भयरहितरुपमा हिंड्डुल गर्न पाउने आम नागरिकको अधिकारमाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ । प्रहरी प्रशासनबाट यस्ता गल्ती नदोहोर्‍याउन  ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
    यसगरी कार्यालयको काम गरिरहेका लोकमञ्च अफसेट प्रेसका संचालक अजय वर्मामाथि गरिएको निर्घात कुटपीटमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउन र भेरी प्रिन्टिङ प्रेसका अपरेटर राकेश नेपालीमाथि प्रहरीद्वारा भएको दुव्र्यवहारको पनि घोर भत्र्सना गरेको छ । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले घटनाका वारेमा प्रहरी प्रमुख र सुरक्षा समितिमा छलफल गर्ने जानकारी दिए ।
    यसैगरी लोकमञ्च अफसेट प्रेस सुर्खेतका संचालक अजय वर्मालाई  निर्घात कुटपिट गरी घाइते बनाइएको घटनाप्रति नेपाल मुद्रण उद्योग संघ सुर्खेतले घोर भ्रत्सना गरेको छ । नेपाल मुद्रण उद्योग संघ सुर्खेतका अध्यक्ष श्रीधर पौड्याल र केन्द्रीय सदस्य हिमा उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा मादक पदार्थ सेवन गरी आएका व्यक्तिको आक्रमणबाट घाइते वर्माको उपचार र दोषीलाई कडा कारबाहीको माग  गरिएको छ । यसैगरी मानवअधिकार तथा जनउत्थान केन्द्र नेपाल सुर्खेत,नेपाल प्रेस युनियन भेरी अञ्चल समिति र नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनले प्रेस विज्ञप्ति निकाली पत्रकार शर्मा र संचालक वर्मा माथी भएको दुव्र्यवहारको विरोध जनाएका छन् ।

    यसैगरी नेपाल प्रेस यूनियन सुर्खेतले पत्रकार शर्मामाथि प्रहरीले गरेको दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण गएको जनाएको छ । शुक्रवार युनियनले एक विज्ञप्ति जारी गरी घटनाको विरोध गर्दै नागरिकको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्थाको प्रत्याभूति गराउन माग समेत गरेको छ । कम्प्यूटर अपरेटरलाई घर छाड्न जाने क्रममा युनियनका केन्द्रीय पार्षद एवं काँक्रेविहार दैनिकका प्रवन्ध निर्देशक सुशील शर्मामाथि प्रहरी नायव उपरीक्षक प्रविण धितालले गरेको दुव्र्यवहारको युनियनले विरोध जनाएको छ । घर फर्किन लागेका बेला ड्यूटीमा बसेका प्रहरीले मापसे परीक्षण, लाइसेन्स र ब्लुबुक चेकजाँच गर्नु स्वभाविक भएपनि सामान्य शिष्टाचार समेत प्रदर्शन नगरी सोझैं ‘तँ’ भनेर सम्वोधन गर्नु अनि पत्रकारको परिचय दिएपछि अश्लील गालीगलौजसहित ‘तैले अनर्गल समाचार लेख्ने ?’ भन्दै पञ्चायति शैलीमा धम्क्याउनु प्रहरीको ज्यादतिको पराकाष्ठा मात्र होइन, सिंगो स्वतन्त्र पत्रकारितामाथिको ठाडो हस्तक्षेप हो भन्ने युनियन सुर्खेतको ठहर छ ।  नेपाल यूनियन सुर्खेतका सचिव गणेश कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीले डरत्रास र धम्की देखाइ स्वतन्त्र पत्रकारितालाई ज्यादतिपूर्ण शैलीमा आफ्नो नियन्त्रणमा राख्न खोजेको नियत स्पष्ट देखिएको उल्लेख गरिएको छ ।
 

No comments:

Post a Comment