सुधार केन्द्रभित्र शंकास्पद मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ जेठ ।
    वीरेन्द्रनगर—६ बजारमा रहेको भैरव युवा सशक्तिकरण केन्द्रमा उपचारका लागि ल्याइएका एक युवकको मृत्यु भएको छ । गत शुक्रवार केन्द्रमा उपचारका लागि ल्याइएका वीरेन्द्रनगर—६ गणेशचोक बस्ने ३५ बर्षीय विर्खबहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    सुर्खेत हस्पिटलमा विहान साढे ८ बजे उपचारका लागि ल्याउनुभन्दा पहिले नै रावतको मृत्यु भएको हस्पिटलका स्वास्थ्यकर्मीले बताएको र मृतक रावतको शरीरका विभिन्न भागमा निलडाम भएको मृत्यु शंकास्पद भएको सुर्खेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले जनाए । उनले भने, ‘मृतकको शरीर निलडाम छ, मृत्यु शंकास्पद भएकोले अनुसन्धान जारी छ ।’
    सुधार केन्द्रभित्रै मृत्यु भएको भन्दै रावतका आफन्तहरुले आक्रोश पोखेका छन्भने केन्द्रकै कर्मचारीहरुको कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले केन्द्रका संचालकलाई कारबाहीको माग गरेका छन् ।
    यता प्रहरीले केन्द्रका संचालक ललित भट्टराईसहित ३ जनालाई सोमवार विहान नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको एसपी परियारले बताए । मृतक रावतको शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल राखिएको छभने प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै बास्तविक कारण पत्ता लाग्ने जनाइएको छ ।
    उता होटल अर्गनाइजेशन सुर्खेतले भैरव युवा सशक्तिकरण केन्द्रका संचालक ललित भट्टराईसहित ३ जनाका विरुद्ध किटानी जाहेरी दिएको छ । सोमवार दिउँसो उनीहरु विरुद्ध जाहेरी दिइएको हो ।
    जाहेरीमा केन्द्रभित्रै कुटपिट गरी रावतको मृत्यु भएको, रावतका परिवारलाई उचित क्षतिपूर्ति दिन र दोषीलाई कारबाहीको माग गरिएको होटल अर्गनाइजेशन सुर्खेतका सचिव सनत आचार्यले जनाए ।

1 comment: