माथिल्लो कर्णालीको विरोध गर्दै सम्पर्क कार्यालयमा नारावाजी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २५ भदौ ।
    माथिल्लो कर्णाली जलविद्युत आयोजना राष्ट्रघाती भएको भन्दै नेकपा–माओवादीले सुर्खेतस्थित सम्पर्क कार्यालयमा नारावाजी तथा जनप्रदर्शन गरेको छ । सोमवार दिउँसो १ बजेतिर पार्टी कार्यकर्तासहितको दलवल वीरेन्द्रनगर–१० खजुरामा रहेको सम्पर्क कार्यालय अगाडि नारावाजी गर्दै जनप्रदर्शन गरेको हो ।
    जनप्रदर्शनमा नेकपा–माओवादी सुर्खेतका सेक्रेटरी ठम्मर विष्टले माथिल्लो कर्णाली जलविद्युत आयोजना राष्ट्रघाती भएकोले बनाउनै नदिने अडान लिए । ९ सय मेगावाटको उक्त आयोजना नेपाल र नेपालीको हितभन्दा भारतीयहरुको हित अनुकूल भएकोले राष्ट्रियता जोगाउन आफूहरुले जनप्रदर्शन गरेको उनको भनाइ छ । वर्तमान भट्टराई सरकार पनि राष्ट्रघाती भएकोले उसले गरेका सवै क्रियाकलाप पनि राष्ट्रघाती भएको उनले बताए ।
    उनले भट्टराई सरकारले मूल्य बृद्धि, राष्ट्रघाती सन्धी गर्नलगायत जनविरोधी निर्णयय गर्ने काममा रेकर्ड राखेको बताउँदै निन्दा गरे । राष्ट्रियताको आन्दोलन एउटा पार्टीको मात्र नभइ सम्पूर्ण देशभक्त नेपालीहरुको भएकोले कांग्रेस र एमाले पनि राष्ट्रियताको आन्दोलनमा आउनुपर्ने उनले जनाए । राष्ट्रघाती निर्णयहरु खारेज नभएसम्म पार्टीले राष्ट्रियताको आन्दोलन जारी राख्ने उनको भनाइ छ । आफूहरुले पहिलो चरणमा शान्तिपूर्णरुपमा आफ्ना मागहरु राखेको र जनप्रदर्शन गरेको जिकिर सेक्रेटरी विष्टले गरे ।
    यसैवीच नेकपा–माओवादी भेरी–कर्णली राज्य समितिले उक्त आयोजनाको खारेजी गर्न माग गरेको छ । राज्य समितिका सेक्रेटरी भरत बमद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय स्वाधीनताका लागि उक्त आयोजना खारेज गर्नुपर्ने बताउँदै भट्टराई सरकारले जनआवाज बुझ्नुको सट्टा उल्टै आयोजना अगाडि बढाउने काम गरेकोमा आपत्ति जनाइएको छ ।
    त्यसैगरी कर्णाली जलाधार संरक्षण समाजले पनि उक्त आयोजनाको खारेजीको माग गरेको छ । राष्ट्रघाती कदमको विरोध गर्दै समाजले आयोजना खारेज गर्न माग गरेको हो । सोमवार नेकपा–माओवादीले आफ्ना ७० बुदे माग प्रधानमन्त्री डा. भट्टराईलाई बुझाएको छ ।

1 comment:

  1. ...बादर ले आपनो घरपनि बनाउदैं र अरुको पनि बनाउन दिदैन... अरे अज्ञानी मुर्ख हरु हो .. सित्तैमा कसले बनाईदिन्छ हो..? अलिअलि आफ्नो फाइदा नहुने हो भने भारत , चीन, अमेरिका अरुत के कुनै पनि नेपाली ठेकेदार हरु कसैले पनि उक्त प्रोजेक्ट बनाउदैनन्. .. यसै गरि उक्त पानी खेर जानु र सधैभरी अध्यारो मा बस्नु भन्दा जसले ५% -१०% मात्र पनि बिधुत दिन्छ, जो - जसले पनि यस्ता सबै प्रोजेक्ट हरु को निर्माण कार्य शुरु गर्दाहुन्छ र गर्न दिनु पर्छ ... बरु यी माओबादी हरुको नाकाम चाल हो नेपाली हरु लाइ सधै अध्यारो मा राख्ने र लाटो देश को गाड़ो राजा बनिरहने ...
    रुद्र खनाल
    दमाम साउदी

    ReplyDelete