दिसामुक्त बनाउँदा दङ्ग

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १९ फागुन ।
    ६३ घरधुरी रहेको फत्तेपुर–१ खल्ला झगडिया गाउँमा नेपाल रेडक्रस सोसाइटीद्वारा संचालन गरिएको विपत जोखिम न्यूनीकरण अन्तर्गत उक्त गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । उक्त टोललाई खुला दिसामुक्त घोषणा गर्नका लागि सदरमुकाम नेपालगन्जबाट पुगेका सरोकारवाला निकायका प्रतिनिधिहरुको टोलीलाई त्यहाँका स्थानीय बासीहरुले फूलमाला अविर र बाजागाजाका साथ भब्य रुपमा स्वागत गरेका थिए ।

अभिभावक दिवस

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ फागुन ।
    सेन्टमेरिज को.एड. स्कुल सुर्खेतको १९ औं अभिभावक दिवस तथा वार्षिकोत्सव शनिवार  सम्पन्न भएको छ । विव्यसका अध्यक्ष डिनिस गुरुङको अध्यक्षतामामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल नवराज गुरुङले विद्यालयका गतिविधिमाथि प्रकाश पारेका थिए ।

राप्रपा नेपालको वडा भेला

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतले डम्वरबहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय लाटिकोइली गाविस वडा–६ को वडा समिति चयन गरेको छ ।

लाटिकोइली उपशाखामा थापा

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ फागुन ।
    नेपाल रेडक्रस सोसाइटी उपशाखा लाटिकोइलीको अध्यक्षमा पुन: कृष्णबहादुर थापा चयन भएका छन् । लाटिकोइली उपशाखाको नवौं साधारणसभाले पुन: थापाकै अध्यक्षताका ९ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।     सदस्यहरुमा तोरण विक, अमृतबहादुर विसी, शान्तिकुमारी सिंह, सुरजकुमार पुरी, ललितनाथ योगी चयन भएका छन् ।

६५ कर्मचारी अनुपस्थित

सुर्खेतपत्र संवाददाता 
हुम्ला, १९ फागुन ।
    जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाका विभिन्न कार्यालयमा हाजिरी छड्के गर्दा कार्यालय प्रमुखसहित ६५ कर्मचारी अनुपस्थित रहेको भेटेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको नेतृत्वमा गरिएको सो छड्केमा जिल्ला प्राविधिक कार्यालयमा १०, जिविसमा आठ, जिल्ला कृषि विकास कार्यालयमा सात, जिल्ला खानेपानी कार्यालयमा छ, नेपाल विद्युत प्राधिरकणमा सात, जिल्ला वन कार्यालयमा तीन, जिल्ला स्वास्थ्य कार्यालयमा तीन, जिल्ला हुलाक कार्यालयमा एक, जिल्ला पशु सेवा कार्यालयमा चार, कोष तथा लेखा नियन्त्रण कार्यालयमा तीन, नापी कार्यालयमा दुई, मालापोतमा दुई, जिल्ला आयुर्वेद कार्यालयमा दुई, घरेलु कार्यालयमा एक र जिल्ला कारागारमा दुई कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

अस्पतालमा महिला संकट व्यवस्थापन केन्द्र स्थापना

सुर्खेतपत्र संवाददाता 
दाङ, १९ फागुन ।
    राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले हिंसा पीडित महिलाको कानुनी उपचारको लागि अस्पतालमा नै एकद्वार सकट व्यवस्थापन केन्द्र स्थापना गरेको छ । सो केन्द्र स्थापना गरेपछि अब हिंसा पीडित महिलाले कानुनी सेवा अस्पतालबाटै  पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले तयार गरेर लागू गरेको अस्पतालमा एकद्वार संकट  व्यवस्थापन केन्द्र निर्देशिका जारी गरेपछि अस्पतालले यहाँ पनि संकट व्यवस्थापन केन्द्र स्थापना गरी अस्पतालबाटै  कानुनी उपचारको व्यवस्था मिलाएको हो ।

पहिलो पटक निमाविमा पनि मौका परीक्षा

सुर्खेतपत्र संवाददाता 
जुम्ला, १९ फागुन ।
    चन्दननाथ उच्चमाध्यमिक विद्यालय जुम्लाले निमावि तह कक्षा ६, ७ र मावि तह कक्षा ९ को पहिलो पटक मौका परीक्षा लिएको छ ।

सौर्य ऊर्जा प्रणालीमार्फत खानेपानी आयोजना

सुर्खेतपत्र संवाददाता 
रुकुम, १९ फागुन ।
    पहिलो पटक खोलागाउँमा सौर्य ऊर्जा प्रणालीमार्फत खानेपानी आयोजना निर्माण गर्न थालिएको छ । सरकारको रु. ३९ लाख ७ हजार ७० को लगानीमा वडा नम्बर ३ को जोगीनेटामा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।
    जोगीनेटाका ६२ घर परिवारलाई लक्ष्य गरी गाउँभन्दा झन्डै दुई किलोमिटर तल (गाउँमुनि)बाट सौर्य ऊर्जा प्रणालीको सहायतामार्फत खानेपानी आपूर्ति गरिने छ । गाउँ आसपासमा खानेपानीका मुहान नभएपछि गाउँभन्दा तलबाट पानी लिन आयोजना बनाउन थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर केसीले जानकारी दिए ।